सम्पादकीय
पोखरालाई सडक व्यापार निषेधित क्षेत्र घोषणा गरेको दुई बर्ष पुगिसक्यो । तर अझैपनि पोखराका सडकपेटीमा हुने व्यापारको अन्त्य हुन सकेको छैन । केही दिनअघि मात्रै पोखराको सस्तो बजारका केही व्यापारीले सडक पेटीमा पनि व्यापार गर्न पाउनुपर्ने माग राख्दा झडप समेत भएको समाचार बाहिर आयो । पोखरा उप–महानगरपालिकालाई सुन्दर, सफा र आकर्षक बनाउन आम पोखरेलीको सहयोगमा सडक पेटीमा हुने व्यापार निषेधित क्षेत्र घोषणा त गरियो तर केही व्यापारीको गलत बुझाईका कारण यो अभियान प्रभावित हुनसक्ने संकेत फेरी देखिएको छ । पोखराका सडकपेटीमा रहेका सबै फुटपाथ व्यवसायीलाई हटाएर विभिन्न ठाउँमा व्यवस्थित गरिएसँगै अहिले पोखराको मुहार फेरिएको पाउन सकिन्छ । तर फाटफुट लुकिछिपी सडकमा हुने व्यापारले पहिलेकै पोखराको झल्को दिन हो की भन्ने आभास पनि पोखरेलीहरुले गर्न थालेका छन् ।
म एकजनाले पेटीमा बसेर सामान बेच्दैमा के भयो र ? भन्ने प्रवृत्तिले सडकमा फुटपाथ व्यवसायीहरु बढ्दैछन् ।
पोखरामा शहरीकरण तिव्र रुपमा विकास भएको छ । यसै त सवारी साधनले सडक छिचोल्न पैदल यात्रुलाई हम्मे हम्मे पर्छ भने त्यहि साँघुरो सडकमा आधा ठाउँ ओगटेर व्यापार गरिदिँदा झन् कस्तो होला ? हुन त पोखरामा अहिले फुटपाथ व्यापारको उतिसारो समस्या छैन । पोखरा उप महानगरपालिकाले फुटपाथ व्यवसायीलाई एकत्रित गरेर व्यवस्थित गरेसँगै अहिले पोखराका सडक केही फराकिला भएका छन् । तर एक पटक निर्मूल नै पारिएको फुटपाथ व्यापार फेरी देखिन थाल्दा समस्याको बीउ यहिँनेरबाट शुरु भएको छ ।
पहिले पहिले सडकपेटीमा बसेर निर्वाध व्यापार व्यवसाय गर्न पाईन्थ्यो । यसरी सडकमा बसेर व्यापार गर्नेहरुले महंगो भाडा तिरेर लिईएका सटरका व्यवसायीभन्दा बढी रकम आम्दानी पनि गर्थे । अहिले पनि पोखराका विभिन्न ठाउँमा स्थापना गरिएका सस्तो बजारमा व्यापार कमी भएको त छैन । तर पहिलेको तुलनामा अहिले एकै ठाउँमा धेरै पसलबीच हुने प्रतिस्पर्धाले व्यापारमा भने कमी आएको हुनसक्छ । लगानी र सटर भाडाको तुलना गर्ने हो भनेपनि सडकछेउको सटरमा हुने व्यापार र न्यूनतम शुल्क तिरेर गरिने व्यापारमा फरक हुने भै नै हाल्यो । अब एकपटक निको भैसकेको यो समस्यालाई फेरी ब्युँताएर सडकमै व्यापार गर्न शुरु गर्ने हो भने पोखराको ट्राफिक व्यवस्थापनदेखि लिएर सौन्दर्यतासम्ममा प्रश्न गर्नुपर्ने ठाउँ रहन्छ ।
हामी आफैंले शुरु गरेको फुटपाथ मुक्त अभियानलाई हामी आफैंले प्रभावित पार्ने प्रयास नगरौं । यसलाई रोकेर पोखरालाई साँच्चिकै पोखरा बनाउन जरुरी छ । बेलैमा यस बिषयमा सोच्न सकिएन भने पोखरा फेरी फुटपाथले भरिएको शहर बन्नेमा कसैको दुईमत नहोला ।
Comments are closed.